दफा १३
संस्थानको कोष
(१) संस्थानको आफ्नो एउटा छुट्टै कोष हुनेछ । सो कोषमा देहायका रकम जम्मा गरिनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त भएको अनुदान,
(ख) कुनै नियमित श्रोतबाट प्राप्त भएको रकम,
(ग) गुठी जग्गाबाट प्राप्त मालपोत वा अन्य आयस्ता,
(घ) गुठी अधीनस्थ जग्गालाई रैतान नम्बरी जग्गामा परिणत गरी दर्ता गर्दा प्राप्त रकम,
(ङ) संस्थानलाई प्राप्त अरू कुनै रकम ।
(२) संस्थानको सबै नगदी संस्थानको नाममा नेपाल राष्ट्र बैंक वा समितिले तोकेको कुनै बैंकमा राखिनेछ ।
(३) संस्थानको तर्फबाट गर्नु पर्ने सबै खर्च संस्थानको कोषबाट व्यहोरिनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि उपदफा (१) को खण्ड
(घ) बमोजिम प्राप्त रकम र संस्थानको नाममा रहेको जायजेथा बिक्री भई सो बापत प्राप्त रकम संस्थानको अक्षय कोषको रूपमा राखिनेछ र त्यस्तो रकम कुनै बैंकमा मुद्दती खातामा जम्मा गर्ने वा घर पसल बनाउने जस्ता स्थायी लगानी गर्ने बाहेक अरू सालबसाली खर्च गर्न पाइने छैन । अक्षय कोषको लगानीबाट प्राप्त आम्दानीको कम्तिमा पच्चीस प्रतिशत रकम अनिवार्य रूपमा सोही कोषमा जम्मा गरी बाँकी रकम संस्थानको काममा खर्च गर्न सकिनेछ ।